राप्रपाको प्रदर्शन : काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो, निषेधित क्षेत्रमा कडाइ



काठमाडौं । राप्रपाले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको हो ।

सुरक्षा रणनीति अनुरुप प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा सुरक्षाकर्मीहरुलाई तैनाथ गरिएको छ ।

निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्ने प्रहरीको तयारी छ । काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने सुरक्षा रणनीति रहेको छ । बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने राप्रपाको योजना छ ।

यस्तै काठमाडौं उपत्यकाको सवारी आवागमन व्यवस्थित गर्न आवश्यकता अनुसार सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्