राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै माइतीघरतर्फ लाग्यो जुलुस
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् ।
राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।
‘हाम्रा नेता रिहा गर, हिन्दु राज्य कायम गर’ लगायतका नारा लगाउदै प्रदर्शनकारीहरु माइतीघरतर्फ गइरहेका छन् ।
राप्रपाले आज तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ ।
कार्यकर्ताहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन सुरु गरिसक्दा राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा थिए ।
प्रहरीले भने पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार
















