सिंहदरबारको चारैतिरका सडकमा गाडी चलाउन रोक लगाईयो, दंगा टोली तैनाथ
काठमाडौं । सिंहदरबार दक्षिणगेटबाट माइतीघरतर्फ जाने सडक सुनसान भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएपछि सुनसान भएको हो ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान छन् ।
त्यहाँ ब्यारिकेड राखेर बाटो बन्द गरिएको छ । सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ छन् । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको छ ।
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल नजिक पनि दंगा नियन्त्रण टोली र पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ ।
सिंहरदबार भित्र प्रवेशमा पनि सर्वसाधारणलाई कडाइ गरिएको छ ।
राप्रपाले आज तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने, पक्राउ परेका आफ्ना नेताहरुको रिहाइ गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा आज प्रदर्शन आयोजना गरेको छ ।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार
















