मादक पदार्थ सेवन गरेका बाबुआमाले लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ ।
स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकोमा उपचारका क्रममा शिशुको मृत्यु भएको हो ।
शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएकी थिईन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार
















