तीनकुने घटना : मुख्य योजनाकार प्रसाईंमाथि ज्यान मार्ने उद्योगमा बयान सुरु



काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंको बयान लिने काम सुरु भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईंको बयान लिन सुरु गरिएको हो ।

सोमबार अवेर प्रसाईंको बयान लिने काम सुरु भएकाले आज फेरि बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रसाईंविरुद्ध अहिले बयान जारी छ । सरकारी वकिल कार्यालयकाअनुसार प्रसाईंविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ ।

यसका साथै ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ ।

राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए ।

ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ ।

सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेको भिडिओमा सुनिन्छ ।

आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको थियो भने कयौ घाइते भएका थिए ।

पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए ।

२९ चैतमा काठमाडौं ल्याएर उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।

राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भयो । तर, उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठूलो क्षति भएको थियो।

प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो ।

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्