ऊर्जामन्त्री जनार्दन शर्मा सम्मानित


 


काठमाडौँ, चैत्र १

मुलुकमा चर्को रुपमा रहेको विद्युत्भार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत् उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गरेको छ ।

ऊर्जा मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा उहाँलाई आगामी दिनमासमेत देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न र मुलुकको ऊर्जा क्षेत्रमा विशेष योगदान दिन आग्रह गर्दै तामपत्रबाट सम्मान गरेको हो ।

सङ्गठनका काठमाडौँ अध्यक्ष दीपेन्द्र लम्सालले मुलुकमा केही पनि हुँदैन भन्ने चरम निराशाका बीच गरे केही त हुँदोरहेछ भन्ने सन्देश दिन सफल भएको र त्यसले समाजमा सकारात्मक प्रभाव पारेकाले सङ्गठनले ऊर्जा मन्त्रीलाई सम्मान गरेको बताउनुभयो ।

सो अवसरमा ऊर्जामन्त्री शर्माले विद्युत्भार कटौतीको विषय सामान्य विषय भएको बताउँदै इमान्दार प्रयास गर्ने हो भने मुलुकलाई केही दिन सकिन्छ र केही हुन्छ भन्ने सन्देश त्यसले दिएको छ भन्नुभयो ।

जलविद्युत् क्षेत्रको विकासका लागि सबैको सार्थक र सकारात्मक प्रयासको जरुरी छ, उहाँले भन्नुभयो – “सरकार केही ठूला र मझौला आयोजना अगाडि बढाउने गृहकार्यमा जुटेको र त्यसको सकारात्मक परिणाम केही दिनभित्रै देखिने छ ।”

मन्त्री शर्माले मुलुक र जनताको साथ र सहयोग पाएको खण्डमा केही वर्षभित्रै विद्युत् उत्पादनमा चामत्कारिक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै सङ्गठनले आजै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि सम्मान गरेको छ ।

विद्युत्भार कटौती कम गर्न उल्लेख्य योगदान र सार्थक पहल गरेको भन्दै उहाँलाई प्राधिकरणकै कार्यकक्षमा सम्मान गरिएको सङ्गठनले जनाएको छ । रासस

प्रकाशित मिति: १ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्