कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
धनगढी । अछामको रामारोशन गाउँपालिका–६ सालघारीमा तीन वर्षअघि कर्तव्य ज्यानको घटनामा संलग्न भई फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय झपड साउँद र ३४ वर्षीय कुले साउँद रहेका छन्। ती दुवै अभियुक्तलाई लामो समयदेखि खोजतलास गरिरहेकोमा प्रहरी चौकी सान्तडाबाट खटिएको टोलीले आइतबार साँझ ६ बजे रामारोशन गाउँपालिका –६ स्थित भाटाकाटिया भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार प्रतिवादीहरुले २०७८ साल कात्तिक २१ गते गगन साउँदको हत्या गरेका थिए।
घटना वडा नम्वर ६ रम्तडा देखि टुडिसैन जाने बाटोको बीच सालघारी भन्ने स्थानमा घएको थियो।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार
















