सीमावर्ती क्षेत्रका समस्या पहिचान भइसके, अब समाधानतर्फ सरकार केन्द्रित छ : गृहमन्त्री गुरुङ
काठमाडौँ, ८ साउन । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा रहेका समस्या पहिचान भइसकेकाले अब सरकार समाधानतर्फ केन्द्रित भएको बताएका छन्।
राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सीमावर्ती क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताए।
गुरुङले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा स्थलगत अध्ययन तथा ‘स्ट्रिङ्ग अपरेसन’मार्फत समस्या पहिचानको काम सम्पन्न भएको उल्लेख गरे। उनले भने, “अहिले समस्याको पहिचान गर्ने काम भइसकेको छ। आगामी दिनमा खुला सीमावर्ती क्षेत्रमा देखिएका समस्या समाधान गर्नेतर्फ अग्रसर हुनेछौँ।”
सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई प्रभावकारी रूपमा परिचालन गर्न पर्याप्त स्रोतसाधन आवश्यक रहेको उनले बताए। आवश्यक उपकरण र सुरक्षाको प्रत्याभूति बिना सुरक्षाकर्मीलाई जोखिमपूर्ण काममा खटाउन नसकिने उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले चालु आर्थिक वर्षको बजेटमार्फत प्रहरी संगठनलाई थप स्रोतसाधनयुक्त बनाउने प्रयास गरिएको जानकारी दिए। खुला सीमाको निगरानीका लागि ‘इन्फारेडयुक्त ड्रोन क्यामेरा’ लगायत आधुनिक उपकरण प्रयोग गर्ने तयारी भइरहेको पनि उनले बताए।
बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमावर्ती क्षेत्रमा हुने चोरीपैठारी तथा अवैध निकासी नियन्त्रणका लागि सुरक्षा निकायले गरेका गतिविधिबारे जानकारी दिएका थिए।
छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरूले सुस्ता लगायत सीमावर्ती क्षेत्रमा नेपाली भूमिमाथिको अतिक्रमण, सीमावर्ती नागरिकले दैनिक उपभोग्य सामग्री ल्याउँदा भोग्नुपरेका समस्या तथा भारतीय बजारबाट रासायनिक मल ल्याउँदा किसानले भोग्ने कठिनाइबारे सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार







