मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
मुस्ताङ । मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ। नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औँ वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि यहाँ आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिए।
वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अङ्गसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिनेलगायत उद्देश्य राखेर यहाँ मापन केन्द्र स्थापना गरिएको उनले बताए।
विभागले समुन्द्री सतहको तीन हजारभन्दा माथि उचाइमा विश्वका पाँच स्थानमा यस प्रकारको वायु गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये दुई नेपालमा रहेको विभागका महानिर्देशक सुवेदीले जनाए।
‘यस खालको प्रविधि मुगुको रारा र त्यसपछि मुस्ताङको जोमसोममा स्थापना गरिएको छ। यसअघि नेपालका ३० जिल्लामा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याइसकेका छौँ। मुस्ताङमा प्रविधि जडान गर्न रु एक करोड बढी खर्च भएको छ,’ उनले भने।
विभागले यहाँ पफ प्यानलगृह निर्माणसहित दुई हजार किलोवाटको सौर्य ऊर्जा सोलार प्यानल, विद्युत् पहुँचका साथै इन्टरनेट जडान गरिएको जनाएको छ।
यहाँ जडान गरिएको उपकरणले वायुको गुणस्तर, वातावरणीय स्वच्छता र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने भावी रणनीति तय गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार
















