अवरुद्ध नाला–भक्तपुर सडकखण्ड ह्युमपाइप राखेर सञ्चालनमा ल्याइयो
काभ्रेपलाञ्चोक । अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ ।
काभ्रेको बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि उक्त सडकमा यातायात अवरुद्ध भएको थियो ।
गए राति ६ ठूलठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरिएपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।
बनेपा नगरपालिका र सडक विभागको समन्वयमा अस्थायी रूपमा बाटो खुलाइएको उक्त कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।
काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त बाटो राजधानी काठमाडौंको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार
















