श्रीमती, सासु, ससुरा र सालो हत्या गरेपछि प्रहरीलाई फोन गरेर राजेन्द्रले भने –मैले चार जनाको हत्या गरे पक्रिन आउनुस्
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका –२ मा एक युवकले आफ्नै श्रीमतीसहित एकै घरका चार जनाको हत्या गरेका छन् ।
धोद्लेखानीस्थित ससुराली गएका भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार राजेन्द्रकी १६ वर्षीया पत्नी मनिषा गिरी, उनका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या भएको हो।
चारै जनालाई छुरा रोपेर बीभत्स तवरले हत्या गरिएको प्रहरीले जनाएको छ । आरोपित राजेन्द्र भने गम्भीर घाइते छन् ।
राजेन्द्रको पेटमा गहिरो चोट लागेको र भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिवार राति चार जनाको हत्या गरेपछि राजेन्द्र आफैले ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस्’ भन्दै फोन गरेको प्रहरीले जनाएको छ । ११ बजेतिर हत्या गरेर आरोपीले १ बजेतिर फोन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यामा संलग्न आरोपीलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको छ ।
राजेन्द्रले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयान अनुसार शनिबार राति सुतिरहेका बेला सासूले पहिले उनीमाथि छुरीले आक्रमण गरेकी थिइन् ।
उनले प्रहरीसामु भनेका छन्–‘सबै जना सुतिरहेका थियौँ सल्याङबल्याङ आवाज आएपछि उठेर हेर्दा सासूले मलाई पेटमा छुरा प्रहार गर्नु भो, त्यही छुरा खोसेर मैले प्रहार गरेँ ।’
प्रहरीका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो विवाह गरेको खुलेको छ । पहिलो पत्नीले छाडेपछि केही महिनाअघि मात्रै उनले १६ वर्षीया मनिषालाई भगाएर ल्याएका थिए ।
तर उमेर नपुगेको भन्दै मनिषाका परिवारले उनीहरूलाई स्वीकार नगरेको प्रहरीको भनाई छ ।
पत्नी मनिषालाई सासूले डेढ महिनाअघि लिएर गएकी थिइन् । मनिषा एक महिनादेखि माइतमै बस्दै आएकी थिइन् । राजेन्द्र ४–५ दिनअघि मात्र उनलाई लिन ससुराली गएका थिए । तर सासू ससुराले छोरी दिन नमानेपछि तनाव बढेको प्रहरीको भनाइ छ ।
पारिवारिक विषयमा उनीहरूका बिचमा मनमुटाव हुँदा विवादले हत्याको रूप लिएको हुनसक्ने प्रहरीको आकलन छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार
















