अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर घटाएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये साउन महिनाका लागि १४ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् भने दुई वटा वाणिज्य बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर भने असारको तुलनामा यथावत रहेको छ ।

त्यस्तै, संस्थागत मुद्दतीतर्फ असार महिनाको तुलनामा साउन महिनामा ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने आठ वटा वाणिज्य बैंकले यथावत राखेका छन् । एउटा वाणिज्य बैंकले भने बढाएको छ ।

वाणिज्य बैंकहरूमध्ये साउन महिनामा व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै अर्थात् ६.२६ प्रतिशत ब्याजदर स्टान्डर्ड चार्टर्ड बैंकले दिने भएको छ ।

त्यस्तै, व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा कम ब्याजदर प्रभु बैंकले जम्मा ४.२५ प्रतिशत दिने भएको छ ।

साउन महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ ५.६९७५ प्रतिशत र संस्थागत मुद्दतीतर्फ ४.११३ प्रतिशत औसत ब्याजदर कायम हुने भएको छ ।

व्यक्तिगततर्फ कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशत, बैंकदर ६.५ प्रतिशतबाट ६ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको छ।

यसपछि वाणिज्य बैंकहरूले साउनका लागि ब्याजदर घटाएका हुन्।

कुन बैंकको ब्याजदर कति ?

साउन महिनाका लागि प्रभु बैंकले व्यक्तिगततर्फ निक्षेपको ब्याज ४.२५ प्रतिशत तोकेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत कायम गरेको छ।

यस्तै एभरेस्ट बैंक र एनआईसी एसिया बैंकले ब्याज ५.२५ प्रतिशत तोकेका छन् भने प्राइम कमर्सियल बैंकले ३.१ प्रतिशतमा सीमित गरेको छ।

यस्तै नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले क्रमश: ४.०५ प्रतिशत र ४.२५ प्रतिशत ब्याज कायम गर्दा लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.३५ प्रतिशत, कुमारी बैंकले ४.०१ प्रतिशत, माछापुच्छ्रे बैंकले ४ प्रतिशत, ग्लोबल आईएमई बैंकले ४.२५ प्रतिशत, सिद्धार्थ बैंकले ४.७५ प्रतिशत ब्याजदर तोकेका छन्।

अन्यमा स्टान्डर्ड चार्टर्ड बैंकले ३ प्रतिशत ब्याजदर तोक्दा कृषि विकास बैंकले ३.५, नेपाल बैंकले ३.७५ प्रतिशत ब्याजदर कायम गरेको हो।

यस्तै एनएमबी बैंक र हिमालयन बैंकले ५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्