समृद्धिको बाटोतर्फ ‘ईभी’
कैलाशबाबु गेलाल
प्रबन्ध निर्देशक
जी. मोटर्स प्रा.लि.
सन् २०२० को सुरुवातसँगै कोभिडपश्चात् चीनले ईभीलाई नयाँ न्यू इनर्जी भेहिकलको रुपमा प्रत्युपादन गरेपछि चीनलगायत विश्वका अधिकांश देशमा चासोको विषय बन्यो । खासगरी युरोपमा ईभी प्रवेश गरेसँगै सन् २०२१ बाट नेपालमा पनि दरिलो रुपमा यसले आफ्नो उपस्थिति जनाउन थालेको हो ।
वार्षिक रुपमा २००–३०० युनिटबाट बिक्री सुरु हुँदा नेपाली अटो बजार आफ्नै लय र संगीतमा थियो । सत्तरी प्रतिशतभन्दा बढी पेट्रोल इन्जिनका सवारी र बाँकी डिजल इन्जिनका बिक्री वितरण हुँदै गरेको अवस्थामा मुस्किलले ५ प्रतिशतभन्दा पनि कम ईभी थिए ।
जब नेपालले एकाएक व्यापार घाटाको अवस्थाबाट गुज्रिएको र विदेशी मुद्रा सञ्चितिमा कमी आएको भनी नेपाल राष्ट्र बैंकले सवारी साधनलगायत अन्य लक्जरी वस्तु आयातमा प्रतिबन्ध लगायो । जसको असर क्रमैसँग अटो क्षेत्रले सकसपूर्ण तवरले पार गर्दै थियो । यसै समयमा नेपाल सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धनको नीति अङ्गीकार गरेर आयातमा न्यून भन्सार, अन्तःशुल्क शून्य लागू गरेर नेपालभित्र ईभीलाई स्वागत गर्न जग खनेको थियो ।
उक्त समयमा नेपाली बजारमा केही २–४ ब्राण्डका विद्युतीय सवारी बिक्रेता एवं ब्राण्डको उपस्थिति रहेको थियो । एकातिर पेट्रोल, डिजल सवारीको आयात बन्द एवं व्यावसायिक विकल्प नभए व्यवसाय नै बन्द हुने र संकटपूर्ण अवस्थाबाट गुज्रने स्थिति देखेपछि नेपाली व्यवसायी एकपछि अर्को गर्दै चीन एवं अन्य मुलुकमा बनेका ईभी नेपाली बजारमा प्रवेश गर्न थाले । नेपाल भित्रिने ईभी भेहिकलहरू विभिन्न ब्राण्डका थिए ।
त्यसको केही वर्षमा नेपाली अटो क्षेत्रले ईभी एडप्टेसनलाई सहजै स्वीकारिसकेको थिएन । ईभी नेपाली सडकमा सफल हुने हुन कि होइनन ? अर्कोतिर चीनले बनाएका ईभी परीक्षणका लागि मात्रै नेपाल आएका हुन् है भन्ने भ्रम चिर्न नेपाली बिक्रेता एवं ग्राहकलाई विश्वासको दरिलो जग बनाउन झण्डै २ वर्ष लागेको थियो । त्यस अवधिमा मुस्किलले चीन र भारतमा निर्मित ईभीहरु ७००–१००० को संख्यामा बिक्री हुँदै थिए । एकातिर ग्राहकको विश्वास प्राप्त गर्नुपर्ने चुनौती थियो भने अर्कोतिर अस्थिर नीतिका कारण ईभीको ट्याक्समा हरेक बजेटमा प्रयोगस्थल भएको थियो ।
एकजना चर्चित अर्थमन्त्रीले त पूर्णरुपमा आयात नै हुन नसक्ने गरी कर वृद्धि गरेपश्चात् आम जनमानसबाट बल्ल ईभी एडप्टेसन किन नेपालजस्तो देशको लागि जरुरी छ भन्ने बुझ्न थालेको पाइयो । उक्त वर्ष लगभग ईभी आयात ठप्प नै रह्यो अनि भन्सारमा आएका पनि व्यवसायीले छुटाउन नसकेर १ वर्षभन्दा बढी डम्पिङ हुन पुगे । त्यसको अर्को साल नयाँ अर्थमन्त्री आउनु भयो । त्यसपछि ईभी क्षेत्रले पुनः नयाँ जीवन पायो । तत्पश्चात् हालसम्म हरेक वर्ष १०–१५ हजारको संख्यामा ईभी भेहिकल चीनलगायत अन्य मुलुकबाट आयात भएर ग्राह्कलाई हस्तान्तरणीय भएका छन् ।
हाल नेपालमा झण्डै ६०–७० हजारभन्दा बढी ईभी बिक्री–बितरण भएको तथ्यांकहरूले देखाएका छन् । नेपाली अटो क्षेत्रले ईभी एडप्टेसनका कारण व्यावसायिक जीवन पनि सहज प्राप्त गरे भने अर्कोतिर वार्षिक रुपमा हाम्रै ग्रीन हाइड्रोबाट उत्पादित ऊर्जा प्रयोगबाट पेट्रोल र डिजलमा खर्च हुने अर्बौ रकम सञ्चितिलाई साहयता प्रदान गर्ने काम भयो । नेपालभित्र ऊर्जा खपतले देशको आन्तरिक ग्राह्यस्थ जीवनमा ग्रोथ लिन सहयोग भयो भने देशभित्र ३०० स्थानभन्दा बढी ठाउँमा ईभी चार्ज स्टेसन बनिसकेका छन् ।
समृद्धिको यात्रा
नेपालमा अहिले इलेक्ट्रिक भेहिकल सवारीमात्रै नभएर एउटा आचरण बनेको छ । कयौं ग्राहकले महँगो पेट्रोल, डिजल खर्चबाट जोगिएर ईभीलाई एउटा स्थायी साधन बनाए भने अधिकांश शहरी क्षेत्रमा यो एउटा आचरणको जीवनशैली पनि बन्यो ।
निजी ईभी सवारीसँगै व्यावसायिक ईभी भ्यानको आवगमन र प्रयोगमा वृद्धिले स्व–रोजगार गरी खाने वर्गलाई समृद्धिको ढोका खोल्यो । सरल किस्ता, कम मर्मत शुल्क र डिजलको खर्चबाट जोगिएपछि नेपाली बजारले सार्वजनिक सवारीमा ११ सिट र १९ सिटसम्मका भ्यानले युगान्तकारी परिवर्तन ल्याएर नेपाली घर–घरमा आयआर्जनको नयाँ माध्यम बन्नुको साथै समृद्धिको बाहक बनेको छ । हाल नेपाली सडकमा ३ हजारभन्दा ज्यादा सार्वजनिक ईभी सवारी गुडेका छन् । गाउँ अनि भित्री तराई र पहाडबाट सीधै काठमाडौंलगायत धेरै सहरमा सम्पर्क स्थापित गरेको छ ।
उच्च र सुरक्षित आयका कारण बैंक तथा वित्तीय संस्थाले लगानी गरेका ऋण सुरक्षित भएको छ । विगतमा डिजल गाडीको उच्च खर्च, मर्मत खर्च र न्यून आयले धेरै कमर्सियल सवारीको ऋण जोखिममा परेका प्रशस्तै छन् । जब ईभी सञ्चालनमा आयो तब बैंक तथा वित्तीय संस्थाले ढुक्कसाथ लगानी गर्न सफल रहेको तथ्य जगजाहेर छ ।
यसरी ईभीले नेपाली अटो क्षेत्रलाई चीन एवं अन्य मुलुकमा निर्मित उच्च गुणस्तरका सवारी प्रयोगको अनुभव र सर्वशुलभ मर्मत खर्चमा देशभित्र उत्पादित ग्रीन ऊर्जा खपतमा महत्वपूर्ण सहयात्रीको साथ निभाएको छ । अनि नेपालकै लागि लगानीको नयाँ क्षेत्र एवं स्वरोजगारमा वृद्धि हुनुका साथै आयमा बढोत्तरी गरेको छ ।
अबको यात्रा
नेपाल ईभीमा विश्वका कयौं देशभन्दा धेरै अगाडि बढिसकेको छ । छिमेकी देश भारतलाई नै हेर्ने हो भने पनि अहिले पेट्रोल निर्मित सवारीको बिक्री नै उल्लेखनीय छ । तर हाम्रो देशको सीधा सिमाना चीनसँग जोडिएको र नेपाल सरकारले लिएको प्रवर्धन नीतिले ईभीलाई नयाँ सवारीको परिभाषा प्राप्त भएको छ ।
हाम्रो देशको ईभी एडप्टेसन अहिले विश्वका तेस्रो, चौथो नम्बरमा आउने खालको रहेको छ । तसर्थ अब हामी ईभीबाट ब्याक हुन सक्दैनौं र देशले पनि ऊर्जा खपत बढाउँदै लाने र आन्तरिक जिडिपी ग्रोथको सपोर्ट पाउने माध्यम नै ईभी हो जुन हाम्रो देशको लागि स्वर्णयुग हो भन्दा कुनै अत्युक्ति नहोला ।
ईभीको ग्रोथले समग्र निजी, सार्वजनिक र ट्याक्सीका रुपमा विभिन्न सवारी न्यून मूल्य, न्यून सञ्चालन खर्चमा सञ्चालित रहेर रोजगार वृद्धि, चार्ज स्टेसनको वृद्धि, नयाँ नयाँ वर्कसप र इन्जिनियरको उत्पादनले अबको ५ वर्षभित्र नै देशमा कम्तीमा पनि ५–७ वटा एसेम्बिल्ड प्लान्ट स्थापना हुने रोडम्याप देखाएको छ ।
आव २०८२/८३ को बजेटले झनै यस कार्यमा उत्प्रेरणा र स्थिर नीतिको संकेत गरेको छ । नेपालले प्राप्त गर्ने समृद्धिको अर्को सार्थक सहयोगी ईभी रहने कुरामा दुईमत राख्न नसकिने भएको छ । जसका लागि नेपाल सरकार, नीति–निर्माता र दीर्घकालीन सोच भएका सेवारत व्यक्तित्वलाई हार्दिक धन्यवाद दिनै पर्दछ ।
साथै सचेत नेपाली ग्राहक र व्यवसायी जसले ग्लोबल गुणस्तरका ईभी नेपाल भित्र्याएर नेपाललाई ईभी युगमा प्रवेश गराउन अतुलनीय योगदान पु¥याउनु भएको छ ।
(गेलाल, स्काइबेल ईभी नेपालका लागि आधिकारिक बिक्रेता हुनुहुन्छ)
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार







