सातै प्रदेशमा रेविज विरुद्धको खोप, सर्पदंश विरुद्धको औषधि आपूर्ति



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ ।

विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए ।

रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएलगत्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो ।

विभागको तथ्याङ्कअनुसार रेविज विरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेविज विरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंश विरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ ।
यसैगरी,सर्पदंशका बढी समस्या आउने मधेस प्रदेशमा सर्पदंश विरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेविज विरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्