कर्णाली विकास बैंकका पूर्वअध्यक्षसहित तीनजना कारागार चलान
काठमाडौँ, साउन २२ । कर्णाली विकास बैंकको घोटाला मुद्दामा तीन जनालाई पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, राजेन्द्रवीर राय, वेदप्रकाश सिंह ठकुरीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
यसैगरी राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतसँग २ लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरिएको छ ।
बैंकको तीन अर्ब २० करोड रूपैयाँ हिनामिना प्रकरणमा १०९ जनालाई प्रतिवादी बनाएको थियो । तीमध्ये चार जना मात्रै पक्राउ परेका थिए । दुई जना आरोपितको मृत्यु भइसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।
सिआइबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित १०९ जनाबाट तीन अर्ब २० करोड ११ लाख ५४ हजार एक सय ५७ रूपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गर्नुपर्ने सुझाव दिएको थियो ।
सिआइबीको सोही अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुर नेपालगञ्जमा मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार
















