महालक्ष्मी विकास बैंकका शाखा प्रवन्धकसहित चार जना पक्राउ, पौने ३ करोड रकम हिनामिना



दाङ । दार्चुलास्थित महालक्ष्मी विकास बैंकको शाखा कार्यालय गोकुलेश्वरको झन्डै पौने तीन करोड रकम हिनामिना गरेको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन्।

महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही, कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त, नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद र ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त पक्राउ परेका हुन् ।

दार्चुलाका प्रहरीका अनुसार साउन २४ गते पक्राउ परेका उनीहरुलाई ‘बैंकिङ कसुर सम्बन्धी मुद्दा’ मा थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालतबाट सात दिनको म्याद प्राप्त भएको छ ।

महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले चार जनाले मिलेर बैंकको ‘सञ्चिती रकम’ दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा तत्कालीन शाखा प्रबन्धक शाहीसहित चार जनालाई साउन २४ गते पक्राउ गरेको थियो।

तत्कालीन शाखा प्रबन्धक शाही सहितका कर्मचारीले बैंकको (भल्टमा राखिएको) इन्स्योरेन्स लगायतको निश्चित सञ्चिती रकम हिनामिनाको आशंकामा बैंकको केन्द्र र प्रदेश कार्यालयका प्रमुख सहितको टोलीले साउन २३ गते अनुगमन तथा निरीक्षण गरेको थियो।

त्यस क्रममा बैंकका पदाधिकारीले सोही दिन नै भल्टमा रहनु पर्ने निश्चित सञ्चिती रकम फेला पार्न नसकेको र प्रारम्भिक अनुसन्धानबाट शाहीसहितका कर्मचारीहरुको रकम हिनामिना प्रकरणमा संलग्नता खुलेपछि निलम्बित गरेको थियो।

महालक्ष्मी विकास बैंकको केन्द्र र प्रदेशका पदाधिकारीले आफ्नै कर्मचारीविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यद्यपी बैंकले सर्वसाधारण सेवा ग्राही (ग्राहक)को रकम भने सुरक्षित नै रहेको जनाएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्