सशस्त्र प्रहरी जवान घुससहित पक्राउ
काठमाडौं, साउन २७ । रूपन्देही कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्री घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूयोग अनुसन्धान आयोगले सीमा पारी भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगले उनलाई पक्राउ गरेको हो ।
आयोगको बुटवल कार्यालयबाट गएको टोलीले खत्रीलाई खोटहीमाई गाउँपालिका–५ बाट पक्राउ गरेको जनाएको छ । आरोपी सशस्त्र प्रहरी जवान खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार










