जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी
काठमाडौँ, साउन २८ । उदयपुरमा जंगली च्याउ खाँदा एकै परिवारका आठजना बिरामी परेका छन् ।
जिल्लाको चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषालु जंगली च्याउको तरकारी खाँदा आठ जना बिरामी परेका हुन् ।
बिरामी हुनेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा छन् ।
सदा परिवारले मङ्गलबार बिहान घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारीसँग खाना खाएका थिए । त्यसपछि उनीहरूलाई बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो ।
बिरामी मध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । बाँकी पाँच जना बिरामीको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार










