पर्याप्त बजेट छैन, मागभन्दा आधा मल ल्याउछौं : कृषिमन्त्री अधिकारी



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा सभाको शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन्।

मन्त्री अधिकारीले खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको बताए।

खेतियोग्य जमिन, सिँचाइ सुविधा, बाली सघनता, विगतको खपत तथा हालको मागका आधारमा प्रदेशको कोटा निर्धारण गरिने उनको भनाइ छ। उनले बाँकी १० प्रतिशत मल बफर स्टोरमा राखिने र प्रदेश समितिको सिफारिसमा वितरण गरिने उल्लेख गरे।

मन्त्री अधिकारीले भने- ‘हाल १३ लाख टन माग रहेकामा चालू आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने सरकारको योजना छ। मलमा अत्यधिक अनुदान रहेको कारण पनि उपलब्ध बजेटले माग सम्बोधन गर्ने गरी मल ल्याउन सकिएको छैन। अहिले युरियामा ८२ प्रतिशत, डिएपीमा ६४ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत मल अनुदान रहेको छ।’

अधिकारीले १३ लाख टन मल चाहिए बजेट नभएकाले ६ लाख टन मात्र ल्याउने सरकारको योजना रहेको जानकारी दिए।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्