सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु, हत्यारा फरार
सर्लाही । सर्लाहीमा अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति आठ बजको समयमा हरिपूर्वा नगरपालिका–६ घर भएका ४० वर्षीय रामपुकार यादवलाई दुई जनाको संख्यामा आएका अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका हुन् ।
आफ्नै घरमा छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अपरिचित व्यक्ति आएर यादवमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए ।
मोटरसाइकल चढेर आएका दुई जनाले पेस्तोलबाट यादवको टाउकोमा गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन् ।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै आफन्तले नजिकै रहेको महोत्तरीको सोनामा गाउँपालिकाको पर्सास्थित जानकी हेल्थ केयर पुर्याएका थिए । त्यहाँ पुर्याउनासाथ स्वास्थ्यकर्मीले यादवको मृत्यु भइसकेको पुष्टि गरेका हुन् ।
गफ गरेर बसिरहेको ठाउँमा अकस्मात आइपुगेका दुई जना अपरिचित व्यक्तिले ‘ रामपुकार भनेको को हो भनेर सोधेर गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यादव केही समयअघिसम्म शिक्षण पेसामा थिए । उनलाई गोली प्रहार गर्नुका कारण भने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार












