मनसुन कमजोर, तर वर्षाको सम्भावना कायमै
काठमाडौँ। नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले मनसुन केही कमजोर बनेको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको सम्भावना कायमै छ ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार, आज (आइतबार) दिउँसो देशभर सामान्य बदली रहनेछ।
कोशी, बागमती र मधेस प्रदेशका तराई र पहाडी भेगमा तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ।
कोशी, गण्डकी, मधेस र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई तथा पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १ भदौ २०८२, आइतबार












