सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदैछ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
यसका साथै बिहानै नुहाइधुवाई गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ ।
वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रहेको संस्कृतिका जानकारहरु बताउँछन् । यो दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ ।
धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक तथा जेठो पर्वका रूपमा पनि रहिआएको छ भने सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ ।
यसैबीच, ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।
प्रकाशित मिति: १ भदौ २०८२, आइतबार












