डेङ्गु नियन्त्रण गर्न युवा परिचालन गरिँदै



काठमाडौँ, १ भदौः काठमाडौँ महानगरपालिकाले डेङ्गु जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण गर्न झण्डै ३०० युवा परिचालन गर्ने तयारी गरेको छ ।

महानगरपालिकाले ३२ वटै वडामा उनीहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने जनाएको छ । महानगरपालिकाका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार अहिले महानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा युवालाई परिचालन गर्न लागेको हो । यसअन्तर्गत लामखुट्टेको लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ ।

त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा, टायर हटाउने, उद्यान सरसफाइमा विशेष ध्यान दिनेलगायत काम गरिने उहाँले जानकारी दिनुभयो । महानगरपालिकाले सहरी व्यवस्थापन विभागसँग मिलेर अव्यवस्थित रूपमा राखेका सामान हटाउनका लागि पहल गर्ने, पानी जम्ने सम्भावना भएको अवस्थालाई व्यवस्थापन गर्ने तयारी पनि गरेको छ ।

यससँगै कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग र नेपाल रेडक्रस सोसाइटी तथा नागरिक सचेतना पनि सञ्चालन गरिने छ । वडा कार्यालय, स्वास्थ्य प्रवद्र्धन केन्द्र, स्थानीय क्लब, सामुदायिक प्रहरी र स्वास्थ्य स्वयंसेविकाको सहभागितामा यो अभियान सञ्चालन हुनेछ ।

त्यसैगरी महानगरपालिकाले हैजा रोग नियन्त्रण गर्न खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न प्लास्टिक ¥याप, स्टिकर र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्