टप एन्ड टी–२० सिरिज : नेपाले आज पाकिस्तान शाहीन्ससँग खेल्दै



काठमाडौं, भदौ ६ । टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दैछ ।

अस्ट्रेलियाको डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

नेपालले हालसम्म खेलेका पाँचमध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ । सुरुवाती ३ खेलमा लगातार पराजय भोगेको नेपालले त्यसपछि लगातार २ जित निकालेको हो ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मंगलबार भएको चौथो खेलमा नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको नेपालले त्यसपछि बुधबार मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराएको थियो ।

पाकिस्तानले भने ५ खेलमा ३ जित निकालेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् ।

नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा छ भने पाकिस्तान ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । पाकिस्तानले सेमिफाइनल खेल्ने प्रवल सम्भावना रहँदा नेपाललाई भने जित आवश्यक रहनेछ र अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।

नेपालले पाकिस्तानलाई राम्रो अन्तरले हराएर अन्य नतिजाहरू आफू अनुकुल आएमा सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्