पोखरामा दोस्रो नेपाल खुला स्नुकर प्रतियोगिता हुने, १२८ जना खेलाडी सहभागी हुने 



पोखरा १२ भदाै। पर्यटनको राजधानी पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नुकर प्रतियोगिता–२०८२ हुने भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नुकर तथा पुल सङ्घको विशेष सहयोगमा पुनः दोस्रो पटक उक्त प्रतियोगिता यही भदौ १७ गते देखि पोखरामा हुने भएको आज (बिहीबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । 

यही भदौ २८ गतेसम्म पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट करिब १ सय २८ जना खेलाडीको सहभागिता हुने भएको आयोजक संस्थाका अध्यक्ष सोम बि.क.ले बताउनु भयो । गत वर्ष कास्की बाहेक अन्य जिल्लाबाट ५३ जना खेलाडी सहभागी भएका थिए भने यस वर्ष करिब ८० जना बाहिरी जिल्लाका खेलाडी आउने अनुमान गरिएको उहाँले जनाउनु भयो । 

प्रतियोगिताका विजेताले नगद २ लाख २ हजार २ सय २ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा दोस्रो हुनेलाई ८० हजार प्रदान गरिने भएको छ भने सेमिफाइनलमा प्रवेश गर्ने दुई खेलाडीलाई जनही २५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा हाइएस्ट ब्रेकरलाई २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगितामा पुरस्कार राशि ३ लाख ५९ हजार ७ सय २ रहेको आयोजकले जनाएको छ । 

यसअघि २०८० सालमा पहिलो संस्करण भव्यतापूर्वक सम्पन्न भएपश्चात् दोस्रो संस्करणको तयारी गरेको अध्यक्ष बि.क.ले जनाउनु भयो । गत संस्करणका विजेता इटहरीका आयुष गौतम हुनुहुन्थ्यो । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अध्यक्ष बि.क.ले जनाउनु भयो । 

प्रतियोगिताले पोखरा क्षेत्रको स्नुकर खेलको स्तरवृद्धि, पर्यटन प्रवद्र्धन र खेलकुद संस्कृतिको विकासमा योगदान पुग्ने फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.का अध्यक्ष सोम बि.क.ले विश्वास व्यक्त गर्नुभयो । साथै, पोखरालाई खेलकुद र पर्यटनको शहरको रुपमा स्थापित गर्न पनि यसले सहयोग गर्ने उहाँको भनाइ थियो । प्रालिका सञ्चालक प्रताप गुरुङले पनि यस प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, कास्की बिलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सागर कुमार शाही, वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, प्रथम उपाध्यक्ष रामजी सुनार र महासचिव सविन जिसीले प्रतियोगितालाई सफल बनाउन सक्रिय भूमिका खेल्ने उल्लेख गर्दै स्नुकर खेललाई व्यवस्थित पार्न अझै राज्यको नियमन हुन आवश्यक भएकोमा जोड दिनुभयो । 

प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्