विश्वमाझ चम्केकी भोजपुरे छोरीको यस्तो छ सफलताको कथा


 


miraaकाठमाडौँ , असार १२

फ्रान्सको चामोनिक्समा हुने वार्षिक मोन्ट ब्लान्क म्याराथनको ८० किलोमिटर तर्फको अल्ट्रा उपाधि नेपालकी मीरा जितिन।  १२ घण्टा ३२ मिनेटमा निर्धारित दूरी पूरा गर्दै २४ वर्षीया मीराले उपाधि जितेकी हुन्।  ६० किलोमिटरसम्मको दौडमा अन्ना कोमेटभन्दा पछि परेकी मीराले अन्तिम समयमा गति लिएपछि उनलाई दोस्रो स्थानमा पार्दै उपाधि जित्न सफल भएकी हुन्।

जुन २००३ देखि फ्रान्समा यो म्याराथन आयोजना भइरहेको छ। मीराले उपाधि जितेको विधामा हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी थिए।  मीराले यसअघि गत वर्ष हङकङ आइल्यान्ड ट्रेल रेस पनि जितेकी थिइन्।

यो रेस जितेपछि साउथ चाइना मर्निङ पोस्ट पत्रिकाले उनको जीवनका संघर्ष समेट्दै एउटा फिचर छापेपछि उनी अन्तर्राष्ट्रिय चर्चाको विषय बन्न पुगेकी थिइन् ।  पूर्वी नेपालको भोजपुर जिल्लाको सानाेदुम्मा गाविस ९ मा जन्मिएकी मीरा पाँच सन्तानमध्ये दोस्री थिइन्। १४ वर्षकै उमेरमा उनी माओवादी लडाकुमा भर्ती भएकी थिइन्।

शिविरमा रहँदा अरु लडाकु जस्तै उनले पनि फुटबल, भलिबल, कराते जस्ता खेलहरु खेल्नुपर्थ्यो।  हरेक बिहान एक घण्टा दौड्नु पर्थ्यो र शारीरिक अभ्यास पनि निकै गर्नुपर्थ्यो।

पत्रिकालाई उनले बताए अनुसार कराते प्रशिक्षकले उनको लुकेको प्रतिभाबारे जानकारी दिएका थिए। करातेमा धेरै बन्देज र अनेकन् नियम हुन्थे, दौड्नलाई भने केही नचाहिने, खुला, मुक्त रुपमा दौडन सकिने। ‘त्यसैले मैले सबै ऊर्जा यसैमा लगाएँ, ‘ उनले भनेकी थिइन्।  माओवादीको अस्थायी शिविर बन्द भयो।

उनी सेना समायोजनमा अयोग्य भइन्। उनलाई १० हजार रुपैयाँ र घर फर्कनलाई खर्च दिइयो। तर उनी नजिकैको आफन्त भएको नगरमा पुगिन्। पछि कराते प्रशिक्षकले बोलाए पछि उनी काठमाडौँ आइन् र यहीँ बसेर प्रशिक्षण लिइन्। अल्ट्रा म्याराथनमा भाग लिन्छु भनेर चाहिँ उनले त्यतिबेला सोचेकी पनि थिइनन्।

यो पनि हेर्नुहोस्

भोजपुरे छोरीले राखिन नेपालको शान (फोटो फिचर सहित)

प्रकाशित मिति: १२ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्