चैतन्य एकेडेमीले काठमाडौंमा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने
काठमाडौं । चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ।
समृद्ध समाज तथा देश निर्माणका लागि सार्थक नीति आवश्यक्तालाई ध्यानमा राख्दै ‘नीतिदेखि सम्वृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ शीर्षकमा नीति सम्मेलनको तयारी गरिरहेको चैतन्य ग्रुपका सिईओ गणेश जोशीले जानकारी दिए।
सोमबार शंखमुलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी दिइएको हो। ‘समृद्धि तब सम्भव हुन्छ, जब नीति सबल हुन्छ। सबल नीतिले सम्वृद्ध देश बनाउन सम्भव छ,’ जोशीले भने, ‘समृद्ध देशबाट नै बलियो राष्ट्रको कल्पना सम्भव छ ।’
भदौ २७ र २८ गते धुलिखेलको हिमालय दृश्य रिसोर्टमा आयोजना हुने नीति सम्मेलनले संवादका माध्यमबाट देशको समसामयिक प्राथमिकता र दीर्घकालीन सम्भावनालाई उजागर गर्न अहम् भूमिका खेल्ने विश्वास छ।
वर्तमान नेपालमा राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, सामाजिक समावेशिता, शिक्षामा रूपान्तरण, सुशासनको सवल अभ्यास र आधुनिक प्रविधिको प्रयोग जस्ता विषयमा सम्मेलनमा दिग्गज र प्रवुद्ध व्यक्तित्वद्वारा गहिरो मन्थन गरिने सिईओ जोशीले जानकारी दिए।
राष्ट्र निर्माणका विविध आयामहरूमाथि केन्द्रित यो सम्मेलन सम्बद्ध नीति–निर्माण, सम्वाद र सामूहिक समाधानतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा राखिएको छ।
सम्मेलनमा राजनीति, अर्थनीति, शिक्षा, संस्कार, समाजशास्त्र, मानवीय चेता, योग, ध्यान, अध्यात्म, कला, साहित्य, संस्कृति, साशन, सेवाप्रवाह, विकास र जलविद्युतमात्र नभएर परराष्ट्र नीतिमाथि समेत मन्थन र चिन्तन गरिने छ।
यसका लागि सम्मेलनमा नीति निर्माण, कार्यान्वयन र विश्लेषण क्षेत्रका वरिष्ठ विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक, राजनीतिज्ञ, विचारक तथा समाजसेवीहरूको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
नीति सम्मेलनमा वर्तमान समस्या र समाधानमूलक चिन्तनलाई प्राथमिकता दिइने छ। युवा, महिला, मधेस, जनजाति, सिमान्तकृत क्षेत्रका आवाजलाई नीतिगत विमर्शमा स्थान दिइने र सम्भावना, आशा र सकारात्मकताको संचारलाई मूल मर्मका रूपमा समेटिन आयोजनकले जनाएको छ।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा एक दर्जन सेसन हुनेछन्। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उद्घाटन गर्ने नीति सम्मेलनमा स्वस्ति वाचन आँचल बसलेलले गर्ने कार्यक्रम छ। कार्यक्रमका प्रमुख वक्ता प्राडा अच्युतप्रसाद वाग्ले रहने छन्।
विभिन्न सेसनमा अर्थविज्ञ, नीति निर्माता, राजनीतिज्ञ समाजसेवी, अध्यात्म अध्ययता, शिक्षाविद्, विचारक, पत्रकार र वौद्धिक व्यक्तित्वको सहभागिता रहने सिईओ जोशीले बताए।
पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार टिकाराम यात्रीले नीति बहस शब्दले नै एउटा गाम्भिर्यता बोकेको बताए। तेह्र वर्ष पहिले यो अभियान सुरु गर्दा सकसपूर्ण रहे पनि अहिले सफल हुँदै तन्नेरी बन्दै गएको उनले बताए।
‘यो नीति बहस सरकारी होइन, गैरसरकारी पनि होइन, बौद्धिक मात्र पनि होइन। यो बहस सबैको समीश्रण हो,’ उनले भने, ‘सरकारले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई यो कार्यक्रमले टेवा पुर्याउँदै आएको छ ।’
उच्च सरकारी अधिकारी, राजनीतिक दल, तीनै तहका सरकारको उत्तिकै सहयोग र सदीक्षा रहेका कारण कार्यक्रम आजको स्थानसम्म आइपुगेको उनले बताए। उनले आफू पनि आठ वर्षदेखि चैतन्यको यस अभियानमा जोडिएर काम गरिरहेको बताए ।
प्रकाशित मिति: १६ भदौ २०८२, सोमबार
















