यु–२३ एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग पराजित
काठमाडौं । २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ ।
गएराति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को पहिलो खेलमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित भएको हो ।
ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले एक–एक गोल गरेका थिए । नेपाली खेलाडीले एक गोल पनि फर्काउन सकेनन् ।
नेपालले अब शनिबार सिरियासँग खेल्ने छ । खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । सिरियाले बुधबार भएको खेलमा फिलिपिन्सलाई २–१ गोलले हराएको थियो ।
समूह ‘के’ मा नेपालसहित, ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् । प्रत्येक समूह विजेता अन्तिम चरणमा छनोट हुनेछन् । उत्कृष्ट ४ उप विजेताले एसियन कप खेल्न पाउने छन् ।
प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार
















