माछापुच्छ्रे बैंकले सेयरधनीलाई दशैं अगाडि नै लाभांश दिने
काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीहरूलाई दशैं अगाडि नै लाभांश दिने भएको छ ।
बैंकले यसवर्षको दशैं असोज १६ गते अघि नै सेयरधनीहरूको खल्तीमा लाभांश पुग्ने गरी प्रक्रिया अघि बढाएको हो ।
लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
यस्तै, प्रतिसेयर १ सय रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, बैंकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँलाई २० अर्ब रुपैयाँउने, बोनस सेयर माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयरको हदसम्म जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, बैंक सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा वृद्धि गर्ने तयारी पनि गरेको छ ।
प्रकाशित मिति: २० भदौ २०८२, शुक्रबार
















