जङ्गली हात्ती गाउँ पसेपछि रातभर जाग्राम
कञ्चनपुर, असोज ५ । हात्तीको बथान गाउँ पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी रातभर जाग्राम बस्न थालेका छन् ।
दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परेका हुन् । हरेक दिन रातिमा आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्याउन थालेपछि यहाँका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बडुवालका राम सुनारले जानकारी दिए ।
जङ्गली हात्तीको बथानले हरेक वर्ष खेतबारीको अन्न सखाप गर्न थालेपछि यहाँका स्थानीयले खेती गर्न छाडेका छन् ।
छिमेकी मुलुक भारतसँग जोडिएको यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न नदिएको यहाँका स्थानीय बताउँछन् । केही वर्षअघि बस्ती पसेका हात्तीले यहाँ धेरैको ज्यानसमेत लिइसकेकाले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने स्थानीयको माग छ ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार












