सार्वजनिक संस्थानलाई सुशासन र जनअपेक्षाअनुसार सञ्चालन गर्न सञ्चारमन्त्रीको निर्देशन



काठमाडौँ, १९ असार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानले जनताको अपेक्षा र आकाङ्क्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्।

गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुङ्गानालाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्दै मन्त्री डा. तिमिल्सिनाले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादन गर्न निर्देशन दिए।

उनले सरकारका अङ्गका रूपमा रहेका दुवै संस्था मुलुकका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै गोरखापत्र संस्थान ऐतिहासिक र सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्त्वको संस्था भएको बताए।

संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर संरक्षण र विकास गर्नुपर्नेमा जोड दिँदै उनले आग्रह–पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानुनअनुसार संस्था सञ्चालन गर्न निर्देशन दिए।

मन्त्री तिमिल्सिनाले जागिर खाने मानसिकतामा मात्र सीमित नभई संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए। मन्त्रालयले दुवै संस्थाको सुधार र सुदृढीकरणका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

यसअघि असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो। त्यस्तै, मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको हो।

नवनियुक्त महाप्रबन्धक रावलले सरकारले लिएको सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहको लक्ष्यलाई संस्थागत रूपमा कार्यान्वयन गर्दै गोरखापत्र संस्थानलाई समयानुकूल, व्यावसायिक र विश्वसनीय सञ्चार संस्थाका रूपमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाको गरिमा, विश्वसनीयता र पाठकमैत्री सेवामा विशेष ध्यान दिइने बताए।

सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक ढुङ्गानाले विगतमा केन्द्रमा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अब संस्थालाई पूर्ण पारदर्शी, आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाए।

उनले सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्त्वको संस्था भएकाले नैतिकता, व्यावसायिकता, सुशासन तथा निरन्तर सुधारलाई प्राथमिकतामा राखेर संस्थाको क्षमता अभिवृद्धि गरिने बताए। साथै वित्तीय अनुशासन, आधुनिक व्यवस्थापन प्रणाली र प्रभावकारी सेवा प्रवाहमार्फत केन्द्रको विश्वसनीयता थप मजबुत बनाइने बताए।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्