मनसुन अवधिभर मेलम्चीको पानी आपूर्ति बन्द



काठमाडौँ, १९ असार मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गर्ने जनाएको छ।

समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर आयोजना बन्द गरिएको जनाएको छ।

समितिका सूचना अधिकारी मधु तिमल्सेनाले नदीको धमिलोपन पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राख्दै पानी पथान्तरण रोकिएको बताए।

उनका अनुसार निरन्तर वर्षाका कारण मुहान क्षेत्रभन्दा माथि रहेको भ्रमाथाङ क्षेत्रमा थुप्रिएको गेग्रान तथा हेडवर्क्सभन्दा माथिका पहिरो जुनसुकै बेला बगेर सुरुङभित्र पस्न सक्ने अवस्था छ। नदीमा पानीको बहाव बढेकाले कर्मचारीको आवतजावतसमेत प्रभावित भएको उनले बताए।

तिमल्सेनाले पानीको अत्यधिक धमिलोपनका कारण सुरुङको गेट पटक–पटक खोल्न र बन्द गर्नुपर्ने अवस्था आउँदा सुरुङ संरचनामा असर पर्न सक्ने तथा सुरुङभित्र जमेको लेदो सफा गर्ने र निरीक्षण (इन्स्पेक्सन) गर्नुपर्ने भएकाले आयोजना बन्द गरिएको बताए।

हाल वैकल्पिक प्रणालीमार्फत पानी पथान्तरण भइरहेको उनले जानकारी दिए। विगत चार वर्षदेखि सुरुङको नियमित सफाइ, मर्मत र निरीक्षण हुन नसकेकाले मनसुन अवधिमा ती कार्यसमेत सम्पन्न गरिने उनले बताए।

मनसुन समाप्त भएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा पथान्तरण गरिने समितिले जनाएको छ। मेलम्चीको पानी बन्द रहे पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी सङ्कलन गरी उपत्यकावासीलाई नियमित खानेपानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिने समितिको भनाइ छ।

विसं २०७८ असार १ गते तथा सोही वर्ष साउन १६ र १७ गते आएको आकस्मिक बाढीले मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित हेडवर्क्स, पहुँच सडकलगायतका संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता समितिले प्रत्येक वर्ष मनसुन सकिएपछि वैकल्पिक प्रणालीमार्फत आवश्यक सफाइ र मर्मत गरी अस्थायी रूपमा काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्दै आएको छ। यसैअनुसार गत असोज २६ गतेदेखि हालसम्म सुरुङमार्फत पानी आपूर्ति भइरहेको थियो।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्