१५ वर्षीय बालकको अपहरणपछि हत्या
सिरहा, असोज ७ । सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या गरिएको छ ।
जिल्लाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको हो ।
असोज ५ गते रातिदेखि बेपत्ता भएका अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु रहेको प्रहरीले जनाएको छ ।
अभिषेकका घरपरवारले रातभरी खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए ।
प्रहरीका अनुसार असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो ।
अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेण्ट लागेर मृत्यु भएको थियो । बुवा आमाका एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँग गोलबजारमै बस्दै आएका थिए ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार












