आज दसैँको तेस्रो दिन, माता चन्द्रघण्टाको पूजा गरिँदै



काठमाडौँ, असोज ८ । दसैँको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको पूजा तथा आराधना गरि मनाउँदैछ ।

चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पक्वान्न एवं रातो रङका पुष्पहरू प्रिय मानिन्छन् ।

देवी चन्द्रघण्टालाई विशेष गरी दूधको परिकार चढाउनु पर्छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ ।

धर्मशास्त्रमा वर्णन गरिए अनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ ।

दश बाहुले युक्त देवी चन्द्रघण्टाले त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षर माला धारण गरेकी छिन् । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन सिंह हो ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्