सञ्चारमन्त्री खरेललाई पनि छाडेनन् मेयर साम्पाङले, लगाए यस्तो गम्भीर आरोप
काठमाडौं । राजनीतिक दलका नेताहरुमाथि विभिन्न आरोप लगाउँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलमाथि पनि गम्भीर आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले योजनाबिना सस्तो लोकप्रियताका लागि निर्णय लिएको आरोप लगाएका हुन्।
उनले मन्त्री खरेलले मन्त्री भएपछि गरेको पहिलो निर्णयको औचित्यमाथि प्रश्न गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘सूचना तथा सञ्चार मन्त्रीले वाइफाइ वितरण गर्ने निर्णय होइन हाम्रो सरकारी सञ्चार प्रणाली सूत्रको सर्भर छिटो गराउनुपर्छ ! सरकारी प्रणाली चौपट छ, हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको छ !’
मन्त्री भएपछि खरेलले पहिलो निर्णयका रूपमा देशका १० ठूला शहरमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने बताएका थिए। मेयर साम्पाङले सोही निर्णयलाई लिएर प्रश्न उठाएका हुन् ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार












