गभर्नरका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक



काठमाडौं। नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर खोजी गरेको छ।

राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो प्रस्ताव माग गरेको हो।

भदौ २४ गतेको आन्देलनको क्रममा गभर्नर पौडेलको ललितपुर, भैंसेपाटी स्थित घरमा आगजनी भएको थियो। आन्दोलनकारीले उनको चितवनमा स्थित पुर्ख्यौली घरमा समेत तोडफोड गरेका थिए।

राष्ट्र बैंकले अहिले उनको बसोबासको लागि ललितपुरमै घर भाडामा खोजेको छ।

अहिले भाडामा लिन खोजिएको घर कम्तीमा १६ आनादेखि अधिकतम २४ आनासम्मको भू–क्षेत्रमा भएको र कम्तीमा ६ वटा काररजिप पार्किङ गर्न मिल्ने क्षेत्रसहितको घर भाडामा लिन खोजेको छ।

आरसीसी स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्गफिट पिलिन्थ क्षेत्रफलमा बनेको र कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको घर खोजेको छ।

सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्र सडकसँग जोडिएको, बिजुली, ढल निकास र खानेपानी लगायत पूर्वाधार व्यवस्था भएको घर खोजी गरिएको छ ।

इच्छुक व्यक्ति, फर्म वा कम्पनीले नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागबाट २७ असोजसम्म घर भाडा प्रस्ताव सम्बन्धी कागजात प्राप्त गरी आवश्यक विवरण भरि प्रस्ताव पेस गर्न सकिने उल्लेख छ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्