राइड शेयरिङ एपमार्फत ठगी गर्नेलाइ प्रशासनद्वारा कारबाहीको चेतावनी



काठमाडौं १८ असोज । प्रतिकूल मौसमको मौका छोप्दै राइड शेयरिङ एपहरूले यात्रुलाई ठग्न थालेपछि प्रशासनले कारबाही गर्ने चेतावनी दिएको छ ।

इन्ड्राइभ, पठाओ, याङ्गोलगायतका सवारी साधनले साबिकको भन्दा चर्को मूल्य लिएको गुनासो आएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो ठगी कार्य नगर्न र नगराउन सचेत गराएको हो ।

कसैले यात्रु ठगेको पाए प्रमाणसहित कार्यालयमा जानकारी गराउन भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,‘हाल मनसुनजन्य विपद्को अवस्थामा इन्ड्राइभ, पठाओ, याङ्गोलगायतका राइड शेयरिङ एपमार्फत गर्ने सवारी साधनहरुले सेवा प्रदान गर्ने क्रममा यात्रुहरुलाई साविकको भन्दा अत्यन्त चर्को मूल्य लिएको भनि गुनासो प्राप्त हुन आएको छ । अतः यसरी कोही कसैलाई ठगी नगर्नु नगराउनुहुन अनुरोध छ । यदि कसैले यस्तो किसिमको ठगी गरेको भए आवश्यक प्रमाण सहित यस जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैलाई आह्वान गरिएको छ । यसरी ठगी गर्ने व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कडा कारवाही गरिने व्यहोरा जानकारी गराइएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्