अलपत्र यात्रुलाई चितवनमा बस्न ७५ प्रतिशत छूट



चितवन, १८ असोज । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सौराहा, टाँडी, भरतपुर र नारायणगढका होटल व्यवसायीलाई अलपत्र यात्रुलाई ७५ प्रतिशत छुटमा बस्न दिने व्यवस्थाका लागि निर्देशन दिनु भएको छ । 

उहाँले होटल व्यवसायीका प्रतिनिधिलाई त्यसरी छुट दिएका यात्रुलाई अन्य ग्राहकसरह व्यवहार गर्न पनि निर्देशन दिनुभएको हो । व्यवसायीले त्यसलाई कार्यान्वयन गर्ने बचन दिएका छन् । 

यसैगरी, चितवन हुँदै राजधानी काठमाडौँ जाने राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । 

शनिवार साँझ बसेको चितवन जिल्ला सुरक्षा समितिको बैठकले नारायणगढ हुँदै काठमाडौँ जाने सवारी साधन शनिबार साँझ ६ बजेदेखि सञ्चालन रोक लगाएको हो । 

मौसम पूर्वानुमान महाशाखाले गरेको सतर्कतालाई ध्यान दिएर अर्को सूचना प्रकाशित नहुँदासम्म काठमाडौँ जाने यातायात सञ्चालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनु भयो । 

नारायणगढ मुग्लिन सडक खण्डको तुइनखोलामा आउने पहिरो, मुग्लिन मेलेखु सडकखण्डको विभिन्न स्थानमा आएको पहिरो, बाढीलगायतको उच्च जोखिम भएकाले बन्द गरिएको उहाँले जानकारी दिनु भयो ।  साथै जिल्ला भएर अन्यत्र जाने सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाएको छ । 

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्