बीमा दाबीको भुक्तानी दिँदै निर्जीवन बीमा कम्पनीहरू 



काठमाडौँ २४ असाेज। नेपाल बीमा प्राधिकरणले देशमा हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम रु.२३ अर्ब २२ करोड ८७ लाख पुगेको जनाएको छ  । 

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कूल ३ हजार ९९ वटा परेको बीमा दाबीबाट रु.२३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ  ।

निर्जीवन बीमा कम्पनीहरूले कूल दाबी रकम मध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब रु. १ अर्ब ५८ करोड ५६ लाख सीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको पनि प्राधिकरणले जनाएको छ  । कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब रु. १९ अर्ब ६ करोड ७६ लाख रहेको छ ।

यस्तै, सम्पत्ति बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी बीमकहरूले रु. १ अर्ब ३२ करोड ७२ लाख दाबी भुक्तानी गरिसकेका छन् । सम्पत्ति बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि ५९८ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट हालसम्ममा ५२ वटा सर्भे रिर्पोट प्राप्त भएको निर्जीवन बीमकहरूले जानकारी दिएको प्राधिकरणले विज्ञप्ति मार्फत जनाएको छ ।

यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिब रु. ३ अर्ब ४१ करोड ६ लाख रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी रु.२४ करोड ९१ लाख दाबी भुक्तानी भएको छ । आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बीमकहरूले दिएको जनाइएको छ  ।

यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको र दाबी रकम रु.३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी रु.८७ लाख दाबी भुक्तानी गरेका छन् ।

आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएको जनाइएको छ  ।

यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिब रु. १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् । अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिब रु. ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिब रु. ५ लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको छ । 

त्यस्तै, अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएका छन् ।

नेपाल बीमा प्राधिकरणले सीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमै सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समय सीमा, दाबी छानबिनको पारदर्शिता र सीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ ।

साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको प्राधिकरणले जनाएको छ  ।

सीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीव्रता दिन समेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन दिएको जनाइएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्