विश्वकप छनोट : सुपर लिगमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा
काठमाडौँ, असोज २६ । टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा आइतबार सुपर लिगमा नेपाल र यूएई आमनेसामने हुँदै छन् ।
ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा यी दुईबीचको खेलले थप रौनकता बढाएको छ । दुई वर्षअघि मूलपानीमा टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनलमा यूएईलाई नै पराजित गरेर नेपालले ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो ।
नेपाल समूह ‘बी’, यूएई समूह ‘ए’ को विजेता भएर सुपर लिगमा पुगेका हुन् । सुपर लिगमा एउटा समूहबाट गएका टोली अर्को दुई टोलीका चार टोलीसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसपछि शीर्ष तीन टोली फेब्रुअरी–मार्चमा भारतमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन् । समूह विजेता बन्दै बोनस २ अंक लिएर गएका कारण ओमान, नेपाल र यूएईको शीर्ष ३ बन्ने सम्भावना निकै बलियो छ ।
सुपर लिगका खेल आइतबार सुरु हुँदा पहिलो दिनमा विजयी भएमा यी तीन टोलीको ट्वान्टी–२० विश्वकप नजिक पुग्नेछन् ।
प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार
















