टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग खेल्दै



काठमाडौं । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ ।

ओमान क्रिकेट एकेडेमीमा खेल आज (सोमबार) राति ८ः४५ बजेबाट सुरु हुनेछ । नेपालले शीर्ष–६ को दोस्रो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले पराजित गरेको थियो ।

समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष–६ मा छनोट हुँदा २ अंक बटुलेको नेपालको खातामा युएईसँगको जितसँगै ४ अंक भएको छ ।

युएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो बनेको छ । शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ ।

अब दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेलमा सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

सुपर–६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्