मधेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान



जनकपुरधाम, २८ असोज मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्गलबार पदबाट राजीनामा दिएपछि मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आजै सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ । 

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८२ /६/२९ गते बुधबार दिन ४ वजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफनो दावी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।  

मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६९ उपधारा (१)को खण्ड क अनुसार मुख्यमन्त्री पदबाट दिनु भएको राजिनामा प्रदेश प्रमुख भण्डारीले आजै स्वीकृत गर्नुभएको थियो । 

साथै नेपालको संविधानको धारा १६९ उपधारा ३ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार संचालन गर्न तोकिएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । 

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्