एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले मागे महासचिव राईसँग स्पष्टीकरण
काठमाडौँ, २९ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष जीरबहादुर खड्काले महासचिव किरण राईलाई तीन दिनभित्र जवाफ पेश गर्न स्पष्टीकरण मागेका छन् ।
बुधबार पत्र लेख्दै खड्काले एन्फाको साधारण सभाबाट अनुमोदित भएको कार्यक्रम कार्यसमितिलाई नै जानकारी नगराई एकलौटी रुपमा पत्रकार सम्मेलन गरेर अर्को निर्णय गरेको भन्दै राईलाई स्पष्टीकरण मागेका हुन् ।
एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ हाल विदेशमा छन् । एन्फाको विधानमा व्यवस्था भएअनुसार कार्यवाहक अध्यक्षको हैसियतमा वरिष्ठ उपाध्यक्ष खड्काले राईलाई स्पष्टीकरण मागेका हुन्।
खड्काले एन्फाको साधारण सभाबाट अनुमोदित कार्यक्रमहरु परिमार्जित गरी एन्फा कार्यसमितिलाई समेत जानकारी नगराई होम एन्ड अवे लिग नहुने भनी पत्रकार सम्मेलन गरेको भन्दै महासचिव राईमाथि आरोप लगाएका छन् ।
पत्रमा एन्फाको सर्वोच्च निकाय साधारण सभाबाट अनुमोदित कार्यक्रमहरू परिमार्जन गरी सिङ्गो नेपाली फुटबलको संरचनालाई ध्वस्त बनाउने कार्य कुन अधिकारको प्रयोग गरी गर्नुभएको हो ? एन्फा कार्यसमितिलाई जानकारीसमेत नगराई ‘होम एन्ड अवे’ लिग नहुने भनी गरिएको पत्रकार सम्मेलनले सिङ्गो नेपाली फुटबल समर्थक, खेलाडी, प्रशिक्षक, रेफ्री, सम्पूर्ण सरोकारवालाहरू र अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने गरी सार्वजनिक भएको धारणाका कारण एन्फालाई बदनाम बनाएको छ,’’ खड्काले राईलाई लेखेको पत्रमा उल्लेख छ ।
महासचिव राईले मङ्गलबार मात्र एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गरी पुसमा हुने भनिएको होम एन्ड अवे ढाँचाको शहिद स्मारक ‘ए’ डिभिजन लिग तोकिएको समयमा नहुने जानकारी गराएका थिए ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार
















