ओमानमाथि नेपालको सानदार जीत, उपाधिमा बलियो दावेदार
काठमाडौं, असोज ३० । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ ।
बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायम राख्दै छनोट प्रतियोगिताको उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । ओमानका लागि विनायक शुक्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।
नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । भुर्तेलले ५१ बलमा ६९ रन बनाए ।
आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार
















