जसपा मधेश प्रदेशका सांसद सरोज सिंह पुन: पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता गरिँदै



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ गरेको छ ।

सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

पूर्वगृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ पक्राउ परेर तारेखमा छुटेका थिए ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए ।

घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

अहिले भने विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । उनीमाथि सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको आरोप छ ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्