नेपालले आज सामोआसँग खेल्दै, उपाधि नजिक
काठमाडौं, असोज ३१ । आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्दैछ।
ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओ बीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुनेछ।
अपराजित रहेर दुई खेल अगावै विश्वकपमा छनोट भएको नेपालले आजको खेल जितेमा पहिलो पटक आइसिसीको प्रतियोगिताको उपाधि जित्नेछ।
उपाधि जितेमा सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउनेछन्।
त्यस्तै, यसअघि नेपालले टी २० अन्तर्राष्ट्रिय सिरिजको विधामा वेस्टइन्डिज र नेपालबीचको द्विपक्षीय सिरिज पनि जितेको थियो। त्यस अन्तर्गत नेपालले सोही विधानमा उल्लेख गरिएअनुसार दुई पक्षीय अन्तर्राष्ट्रिय सिरिज जिते बापत प्रत्येक खेलाडीले १ लाख प्राप्त गर्नेछन्।
नेपालले यसअघि २०१० मा आइसिसीको लिग डिभिजन ५ को उपाधि जितेको थियो। सुपर सिक्स अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ रनले पराजित गरेको थियो।
त्यस्तै दोस्रो खेलमा नेपालले कतारलाई ५ रन र तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गरेको थियो।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार
















