महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै



काठमाडौँ, कार्तिक ३ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

करिब दश वर्षको उमेरमै कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । यी कृतिहरूका माध्यमबाट उनले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाएका थिए ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनको प्रसिद्ध खण्डकाव्य ‘मुनामदन’ नेपाली भाषामा हालसम्म सबैभन्दा बढी विकिएको पुस्तक मानिन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’को संयुक्त रूपसँग तुलना गरेका थिए ।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उनले नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा योगदान दिएका थिए ।

देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासलगायतका १५ जना गद्य लेखकका निबन्धहरू चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए । विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री रहँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गरेका थिए ।

वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा उनको सक्रिय योगदानलाई अविस्मरणीय मानिन्छ। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए । तुरुन्त कविता लेख्ने क्षमता उनका असाधारण विशेषतामध्ये एक मानिन्छ ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्