महिला फुटबल टोलीले भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्ने



काठमाडौँ ४ कात्तिक। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितापछि मैत्रीपूर्ण फुटबल पनि खेल्ने भएको छ ।

भारतको सिलोङमा नेपाल, भारत र इरानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । सुरुमा भारतसँग सिलगुढीमा मैत्रीपूर्ण खेल हुने भनिए पनि पछि इरानसहित सिलोङमा त्रिदेशीय मैत्रीपूर्ण खेल हुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको थियो ।

नेपालले कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाल र भारतबीच कात्तिक १३ गते मैत्रीपूर्ण खेल हुने भएको छ । त्रिदेशीय मैत्रीपूर्ण फिफा विन्डोमा परेको छ । नेपाल र भारतबीच कात्तिक १३ गते हुने पछिको खेल फिफा इन्डो भित्रको होइन ।

नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । व्यावसायिक फुटबलका लागि देश बाहिर रहेका खेलाडी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, गोलकिपर एन्जिला तुम्बापो सुब्बा, पूजा राना र प्रीति राई स्वदेश फर्किसकेका छन् ।

साम्बा न्युजिल्याण्ड, एन्जिला भारत, पूजा भुटान र प्रीति जोर्डनबाट स्वदेश फर्केका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङ्गलवार रविभवनस्थित होटल क्राउन इम्पेरियलमा एक कार्यक्रमबीच राष्ट्रिय टोलीलाई बिदाई पनि गरेको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्