नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग खेल्दै
काठमाडौं । भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्दैछ ।
खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल, भारत र इरान सहभागि रहेको प्रतियोगितामा इरानले भारत र नेपाललाई हराएर उपाधि भने जितिसकेको छ ।
त्यसैले आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ । दुई छिमेकी प्रतिद्वन्दी नेपाल र भारत अन्तिम खेल जित्दै सुखद रुपमा यो प्रतियोगिता सकाउन चाहन्छन् ।
यसअघि नेपालले सन् २०१९ मा भारतलाई भारतकै भूमिमा पराजित गरेको थियो । फेरि एक पटक भारतलाई उसैको भूमिमा हराउने अवसर नेपाललाई छ ।
यस्तै शिलोङमा नेपालले भारतसँग तेस्रो पटक खेल्दैछ । यसअघि सन् २०१६ मा भएको साउथ एसियन गेम्सको लिग चरणमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । तर फाइनलमा नेपाल भारतसँगै ४–० ले पराजित भएको थियो ।
महिला फुटबलमा नेपालका लागि भारत चिरपरिचित प्रतिद्वन्दी हो र नेपालले अहिलेसम्म सबैभन्दा धेरै १८ खेल भारत विरुद्ध नै खेलेको छ ।
हेड टु हेडमा हेर्दा भारत धेरै अघि रहेपनि पछिल्ला खेलहरुमा भने भारत विरुद्ध नेपालको प्रदर्शन राम्रो छ । पछिल्लो चार खेलमा नेपाल भारत विरुद्ध अपराजित छ ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार
















