तिहार-छठको लामो बिदापछि सिंहदरबारमा चहलपहल बढ्यो
काठमाडौँ। तिहार र छठ पर्वको लामो बिदा सकिएपछि मंगललबारदेखि नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ।
पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा सुरु भएको छ। सिंहदरबारका मुख्य सचिवालय, मन्त्रालयहरू र विभिन्न विभागहरूमा बिहानैदेखि कर्मचारीहरूको आवतजावत बाक्लिन थालेको छ।
तिहार पर्वको भाइटीकादेखि छठ पर्वसम्म सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको थियो। तिहारपछि आइतबार एक दिन कार्यालय खुले पनि कर्मचारीहरूको उपस्थिति न्यून हुँदा सिंहदरबार सुनसानजस्तै थियो। सोमबार छठ पर्वको सार्वजनिक बिदा परेकाले कार्यालयहरू बन्द रहे।
तर, मंगलबारदेखि भने पूर्णरूपमा कार्यालय सञ्चालनमा आएका छन्। सिंहदरबार परिसरमा बिहान १० बजेदेखि नै कर्मचारीहरूको चहलपहल बढेको देखिन्छ।
गेटहरूमा सुरक्षाकर्मीहरूको जाँच, पार्किङ क्षेत्रमा सवारीसाधनहरूको लाइन र कार्यालय भवनहरूमा फाइलहरू बोकेर हिँडडुल गर्ने कर्मचारीहरूको दृश्यले प्रशासकीय गतिविधि फेरि सङ्केत गर्छ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार
















